माछापुच्छ्रे आरोहण अनुमतिको वैकल्पिक मार्ग
- Anup Chalise
- Jul 29, 2018
- 3 min read
युवतीको सौन्दर्य अनुहारमा निखारिएको हुन्छ, त्यस्मा पनि नाक । त्यसरी नै पोखराको सौन्दर्य अन्नपूर्ण हिमालयको विचमा ठडिएको माछापुच्छ्रेमा केन्द्रित छ । त्यसमाथि अहिले सम्म मानव पाइला नपरेकाले सुन्दरतामा थप निखारता आएको छ । सातहजार फिट भन्दा कम उचाईको माछापुच्छ्रे जलवायु परिवर्तनको तिव्र प्रहारमा छ । वायुमण्डलमा बढेको तापक्रमले यो हिमाल कालो भयो भने पोखराको पर्यटकीय भविष्य नै जोखिममा हुन्छ । त्यसैले पोखराले पर्यटन बजारमा विक्रि गर्ने केन्द्र उत्पादन माछापुच्छ्रेको सौन्दर्य हो भने हिमालसंग गासिएको जैविक विविधता र सास्कृतिक विविधता सहायक पर्यटकीय उत्पादन हुन् । पर्यटकलाई सुबिधा दिने होटल, रेष्टुरा तथा यात्राव्यवस्थापन आदी उत्पादन त केन्द्रिय तथा सहायक उत्पादनलाई ग्राहक समक्ष प्रस्तुत गर्ने बजार सुविधा मात्र हुन् । यसै तथ्यलाई दृष्टिगत गरेर जलवायु अनुकुलनका उपाय सास्कृतिक भाषामा कार्यान्वयन गर्ने उद्देश्यले सन् २०१० मा मत्स्यनारायण दर्शन तथा पीपल प्रवर्तन कार्यक्रमको परिकल्पना गरिएको थियो । वायुमण्डलीय तापक्रम बढने क्रम अहिले पनि रोकिएको छैन । त्यसैले उक्त कार्यक्रमको औचित्य अहिले पनि उत्तिकै रहेको छ ।
माछापुच्छ्र्रेको फेदीमा बस्ने कुनै पर्यटकीय लाभ नलिएर हिमाल र हिमाली सस्कृति बचाई राख्ने र त्यस्को सौन्दर्यलाभ कुनै लगानी नगरीकन पोखराका पर्यटन व्यावशायिले लिने तर्क सामाजिक न्यायले मात्र नभएर उदार अर्थव्यवस्थाको प्रतिकुल हो । त्यसैले माछापुच्छ्रेको फेदीमा बस्ने जनताले पनि पर्यटकीय लाभ लिन सकुन भन्ने उद्देश्यले मत्स्यनारायण दर्शन तथा पीपल प्रवर्तन कार्यक्रम माछापुच्छ्रेको फेदी सार्दिखोलामा गर्ने निर्णय गरिएको थियो । त्यो कार्यक्रमको प्रभाव स्वरुप पर्यटन बजार विस्तारै विस्तारै उकालो सर्ने अनुमान गरिएकोमा आसा गरिए अनुसार हुन सकेको छैन ।
नयाँ सम्बिधान लागु भए संगै अहिले माछापुच्छ्रे गाउँपालिकाले स्वायत्त कार्य योजनाको तर्जुमा गर्न पाउछ । सम्बिधानको त्यही प्रावधानमा टेकेर अहिले गाउँ पालिका सरकारले अहिले सम्म कुमारीत्व बचाएको सुन्दर हिमाल पर्वतारोहणको निमित्त खुल्ला गर्ने आसयले प्रदेश तथा संघीय सरकारसंग स्वीकृति मागेर पठाएको छ । गाउँ पालिकाको यो निर्णय संगै पोखराको पर्यटन बजारमा माछापुच्छ्रेको कुमारीत्व बनाई राख्न एक प्रकारको हलचल पैदा भएको छ । उक्त हलचलको झट्का सात समुन्द्र पारी याहा पनि आई पुगेको छ ।

पोखरेली पर्यटन व्यावशायीले कुनै शुल्क नतिरी माछापुच्छ्रेको सौन्दर्य बेच्ने मात्र नभएर माछापुच्छ्रे गाउँ पालिकालाई माछापुच्छ्रे आरोहण अनुमति दिन नपाउने माग राख्नु न्यायोचित हुँदैन भने वर्षमा २०।३० जना पर्वतारोहीलाई माछापुच्छ्रे आरोहणको अनुमति दिदैमा पनि फेदीको पर्यटन प्रवर्तन भएर लक्षित वर्गले प्रयाप्त पर्यटकीय लाभ पाउने होइनन् । त्यस माथि पोखरा वा काठमाण्डौका पर्वतारोहण व्यवस्थापकले विक्रि नगर्ने हो भने यो उत्पादन पर्यटन बजारमा जम्न सक्दैन । त्यसैले दुवै पक्षको हितमा हुने गरेर विचको मार्ग पहिचान गर्न नितान्त आवस्यकता महसुस गरेकोले निम्न अनुसारको व्यवस्था गर्न गराउन सिफारिस गर्न चाहन्छु ।
माछापुच्छ्रे गाउँ पालिकाले माछापुच्छ्रे हिमालको कुमारीत्वलाई अध्यात्मिक महत्व दिदै भारतीय र आन्तरिक पर्यटकलाई फेदिसम्म लाने रणनीति अपनाउनु पर्छ । किनभने पोखराको पर्यटन बजारमा तेश्रो विश्वका पर्यटक भन्दा आन्तरिक र भारतीय पर्यटकको योगदान ठूलो रहेको छ ।
पोखरा मुक्तिनाथको दर्शन गर्न जाने द्वार हो । हिन्दु समाजले अन्नपूर्णलाई हिमालय भन्दा बढी देवीको मूर्तिको रुपमा लिन्छ । जलवायु परिवर्तनले जनताको खाद्य सुरक्षामा देखाएको जोखिमको संकेतलाई सास्कृतिक भाषामा व्याख्या गर्न सकेमा मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालुलाई माछापुच्छ्रेको फेदीसम्म यात्रा गराउन पनि सकिन्छ । त्यसैले माछापुच्छ्रे आरोहण भन्दा श्रीनरनारायणको प्रतिमूर्ति मानेर आराधना गराउने कार्यको पर्यटकीय उत्पादकत्व बढी हुनाको साथै पर्यटनको लाभ लक्षित वर्गसम्म लग्न सकिन्छ ।
पोखराका पर्यटन व्यावशायिले बिक्रि गरेको मूल उत्पादन माछापुच्छ्रेको सौन्दर्य हो । त्यसैले दृष्यावलोकन गरे बापत र आरोहण कार्यक्रम स्थगन गरे बापत पोखराका व्यावशायिले पर्यटकबाट दस्तुर उठाई माछापुच्छ्रे गाउँ पालिकाको विकासमा हस्तान्तरण गर्न न्यायोचित हुन्छ । यो उद्देश्यमा प्रदेश सरकार तथा पोखरा स्थित पर्यटन बोर्डको सकृय संलग्नता आवस्यक हुन्छ ।
माछापुच्छ्रे आरोहण सम्बन्धि अहिले चलेको विवादलाई एकातिर गाउँको तल्लो तप्कासम्म छलफलमा लानु पर्छ भने बजारीकरणको उद्देष्यले सामाजिक सञ्जाल तथा संचार माध्यममा व्यापक छलफल गराई विज्ञापन लाभ उठाउनु पर्छ ।
Comentarios